जनता बैंकसंग मर्जर सम्झौता गरेको झण्डै सात महिना पछि मर्जर तोडिएको माछापुछ्रे बैंकको शेयर कारोबार बिहीबार एक दिनका लागि खुलेको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार नियमित कारोबार सुचारु हुनु पहिले एक पटक कारोबार गराउनु पर्ने व्यवस्था भए अनुरुप बैंकको शेयर एक पटक कारोबार भएको छ ।
मर्जर प्रकृया तोडिएको ६ दिन पछि बैंकको शेयर कारोबार खुलेको हो । मर्जर सम्झौता विपरित जनता बैंकसंग छलफल नै नगरी माछापुछ्रे बैंकले बोनस शेयर बितरण गर्ने प्रस्ताव गरे पछि सुरु भएको शेयर स्वाप रेशियो विवाद कै कारण दुई बैंकको मर्जर प्रकृया भाँडिएको थियो ।
बिहीबार नेप्सेमा भएको एउटा कारोबारमा बैंकको १५ हजार २ सय १९ कित्ता शेयर ५ सय ४० रुपैंयाका दरले किनबेच भएका छन् । एउटा कारोबार भए पश्चात फेरी बैंकको शेयर कारोबार स्थगित भएको छ । केही दिनमा बैंकको शेयर कारोबार सर्वसाधारणका लागि सुचारु गराउने प्रकृया चलिरहेको बैंकले जनाएको छ ।
सात महिना पहिलो भएको सम्झौता अनुसार माछापुछ्रे बैंकको शेयरमुल्य १ सय २१ रुपैंया र जनता बैंकको शेयर मुल्य ८२ रुपैंया हुने सम्झौतामा दुबै बैंकले सहमति जनाएका थिए । यसका लागि जनता बैंकले प्रिमियमका रुपमा माछापुछ्रे बैंकलाई १९ करोड ७९ लाख रुपैंया रकम बुझाउने सहमति भएको थियो । तर माछापुछ्रे बैंकले जनतासंग पछिल्ला दिनमा पहिले तय भएको शेयर स्वाप रेशियोले आफुलाई नोक्सान पर्ने भन्दै त्यसमा परिमार्जन गर्न दवाब दिइरहेको थियो ।
दुबै बैंकको सञ्चालक समिति अध्यक्षहरुले मर्जरमा जाने सहमति गरेर राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिइसके पछि माछापुछ्रे बैंकले बोनस बितरण पश्चात सम्झौता अनुसारको स्वाप रेशियो परिमार्जनका लागि जनता बैंकलाई पत्राचार गरे पछि मर्जर तोडिने निश्चित भएको थियो ।
सोमबार मात्र माछापुछ्रे बैंकले १६ प्रतिशत बोनस शेयर बितरण गरि चुक्ता पूँजी ३ अर्ब ८५ करोड रुपैंया पुर्याउने प्रस्ताव साधारण सभामा लैजाँदैछ । त्यस पछि फेरी ५० प्रतिशत अर्थात २ बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गरि चुक्ता पूजी ५ अर्ब ८० करोड रुपैंया पुर्याउने प्रस्ताव साधारण सभामा लैजाँदै छ । साधारण सभा बैशाख २६ गतेका लागि बोलाइएको छ ।
No comments:
Post a Comment